Page Nav

HIDE

Breaking News:

latest

अस्त-व्यस्त क्वारेन्टाइन : संघ र प्रदेशबाट आदेश आयो, बजेट आएन

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्यालय भरिभराउ भएर खुला आकाशमुनि क्वारेन्टाइन बनाएका खबर आइरहेका बेला उपमहानगरपालिका क्षेत्रकै क्वारेन्टाइन ...

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्यालय भरिभराउ भएर खुला आकाशमुनि क्वारेन्टाइन बनाएका खबर आइरहेका बेला उपमहानगरपालिका क्षेत्रकै क्वारेन्टाइन अस्तव्यस्त पाइएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – तराईको ४२ डिग्रीको तापक्रममा पनि अधिकांश क्वारेन्टाइनमा पंखा उपलब्ध छैन ।

खानेपानीको अभाव छ । भारतबाट आएका नागरिकलाई खाना, खाजा, बास र स्वास्थ्य परीक्षण निःशुल्क भनिए पनि त्यो व्यवस्था हुन सकेको छैन । धनगढी उपमहानगरपालिका–१ का हर्कबहादुर चन्द पाँच दिनअघि भारतको राजस्थानबाट घर फर्किए । कैलालीको गौरीफन्टा नाकाबाट हजारौंको भीड छिचोल्दै आएका उनलाई धनगढीको मुख्य बजारस्थित त्रिनगर माविको क्वारेन्टाइनमा राखिएको छ । ‘बेसार र नुन हालेको भात मात्रै दिन्छन्, मैले खानै सकिनँ’, उनले भने, ‘घरबाट खाना मगाएर खाइरहेको छु ।’

क्वारेन्टाइन क्षेत्रबाट २० मिनेटमा उनको घर पुगिन्छ । ‘कोरोना लागिहाले पनि इम्युनिटी (प्रतिरोध क्षमता) बढाउनुस् भन्छन् सबै’, उनले भने, ‘बेसार हालेको भात खाए के इम्युनिटी बढ्छ ? त्यसैले घरबाट खाना मगाइरहेको छु ।’ सोही वडाकै उमेशसिंह ठगुन्ना र उनका भाइ भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेको मंगलबार तीन दिन भयो । उनीहरूले त्रिनगर माविको भवनको बरन्डामा बेन्च राखेर खाट बनाएका छन् । ‘यो विद्यालयभित्र हुलिदियो । केही थिएन । सबै कोठा भरिभराउ थिए । काँ गएर सुत्नु त ?’, उमेशले भने, ‘त्यसैले यो बरन्डामा बेन्च जोडेर पल्टिने जुक्ति निकालेका छौं ।’ उनीहरूलाई पनि बिहान नास्ता, दिउँसो र बेलुकीको खाना घरकाले ल्याइदिन्छन् ।

‘नास्ता र खाना मात्रै होइन, ओढ्ने–ओछ्याउने र पंखा समेत हामीले घरबाट मगाएका छौं’, उमेशले भने, ‘सुरुको दिन त बिजुली पनि दिएन । कराएपछि मात्रै बल्ल बिजुली दियो । अहिले बरन्डामा सुतिरहेका छौं ।’ त्रिनगर माविमा वडा नम्बर १ र ४ का ६० जनाभन्दा स्थानीय क्वारेन्टाइन बसेका छन् । यही विद्यालयमा बसेका धनगढी–३ का ४७ वर्षका पुरुषको दुई दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । सँगै भारतबाट आएर एकै विद्यालयमा क्वारेन्टाइन बसेका व्यक्तिमा कोरोना पुष्टि भएपछि अरू नागरिक त्रासमा छन् । उनीहरूले कोरोनाका बिरामी बसेको कोठा छाडेका छन् । उनले प्रयोग गर्ने गरेको धारामा पनि जान छाडेका छन् ।

कोई टिप्पणी नहीं